Get Adobe Flash player

Main Menu

#1 Nepali Realtor

purna_adv.gif

Insurance Advisor

durgga.gif



नेपालमा ससस्त्र प्रहरीका डिआइजीले श्रीमतीको हत्या गरे

b_250_150_16777215_00___images_news_nepali_dig-ranjan.jpgकाठमाडौं, माघ १०- 'किन मार्‍यौ त श्रीमतीलाई?' एसपी राजेन्द्र श्रेष्ठले सोधे। 'मैले हत्या गरेको हो भन्ने के आधार छ तिमीसँग?'
श्रीमती गीता ढकालको हत्या अभियोगमा समातिएका सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।
'पालुङमा फेला परेको शव गीताकै हो,' श्रेष्ठले भने।
रञ्जनले त्यसको प्रतिवाद गरे, 'त्यो शव गीताको हो भन्ने प्रमाण केही छ?'
केही समय दुवै मौन भए।
श्रेष्ठले भने, 'पुस २७ गतेदेखि नै तिमी के गरिरहेका छौ, कहाँ-कहाँ गयौ हामीले सबै हेरिरहेका छौं। हामी ९० प्रतिशत कन्फर्म छौं, त्यो शव गीताकै हो, तिमीले नै उसलाई मारेका हौ।'

यति भनेपछि रञ्जन केही बेर चुप लागे र एसपी श्रेष्ठतिर हेरेर भने, 'हो मैले नै हत्या गरेको हुँ।'

माथिको यो प्रश्नोत्तर श्रेष्ठ र कोइरालाबीच आइतबार बिहान महानगरीय प्रहरी परिसर हनुमानढोकामा भएको हो।

स्रोतका अनुसार आइतबार बिहान नागढुंगामा रञ्जन पक्राउ परेपछि काठमाडौंका एसपी श्रेष्ठ आफ्नै कोठामा कुरेर बसेका थिए। उनीहरू २०४६ सालमा प्रहरी सेवामा प्रवेश गरेर सँगै तालिम लिएका थिए। प्रहरीले रञ्जनलाई हनुमानढोका ल्याउनासाथ एसपी श्रेष्ठको कोठामा पुर्‍याएका थिए। उही ब्याचका अर्का एसपी सुरेशविक्रम शाह पनि त्यहीँ थिए।


श्रेष्ठ र शाह दुवैलाई रञ्जनको हठी र घमन्डी स्वभाव थाहा थियो। कुराकानी सुरु गरेको आधा घन्टामै अभियोग स्विकार्लान् भन्ने विश्वास दुवैलाई थिएन। 'सुरुमा केही अल्मलिएझैं देखिएका थिए,' श्रेष्ठले भने, 'कुराकानी गर्दै जाँदा विस्तारै फ्रेस हुँदै आए र स्वीकार गरे।'
अनुसन्धान अधिकारीका अनुसार सुरुमा रञ्जनले आफ्नै योजनामा हत्या भएको स्विकार गरे पनि आफू हत्यारा नभएको दाबी गरेका थिए। अर्कै व्यक्तिलाई '४ लाख रुपैयाँ दिएर मार्न पठाएको' उनको बयान थियो। आइतबार साँझ बयान फेरियो। प्रहरीले पछिल्लो बयान सत्यको नजिक रहेको निष्कर्ष निकालेका छन्। त्यही आधारमा प्रहरी टोलीले 'हत्या गरिएको' भनिएको बुढानीलकन्ठको घरमा सोमबार दिउँसो निरीक्षण गर्‍यो। महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरका टोली प्रमाण जुटाउन त्यहाँ पुगेको थियो।
घरमा बेडरुम असरल्ल थियो। एउटा खोलबिनाको सिरानी पनि भेटियो। प्रहरी टोलीले बेडरुमको अवस्था हेरेर 'श्रीमान-श्रीमती (डिआइजी रञ्जन कोइराला र गीता) बीच त्यही कोठामा झगडा परेको' निष्कर्ष निकालेको छ।
जुन खोलबिनाको सिरानी भेटियो, त्यसैले थिचेर हत्या गरिएको प्रहरी अनुमान छ। 'कोइरालाले प्रमाण नष्ट गर्न खोल झिकेको फ्याँकेको हुनसक्छ,' टोलीमा संलग्न एक अधिकारीले भने।
उनीहरूले घरका सबै कोठा चाहारे। अन्डरग्राउन्डमा छिरेर हेरे। घरपछाडि भान्सासँगै जोडिएको लसुनबारीमा गाडीको टायरको डाम भेटियो। एकजना प्रहरीले त्यतै हेर्दै भने, 'यही कोठामा मारेर यतैबाट लगेछ।' त्यहाँ केही राता टाटा पनि देखिए। त्यो रगत हो/हैन खुट्टयाउन प्रहरीले सकेनन्। यसबाहेक अरू तथ्यहरू पनि भेटिएनन्। प्रहरीले मुचुल्का उठाए र कुनै निष्कर्ष ननिकाली फर्किए।
कोइरालाले आफ्नो बयानमा श्रीमतीसँग झगडा पर्दामा आफूले धकेलेको र भुइँमा बजारिएर मृत्यु भएको दाबी गरेका छन्। 'अहिलेसम्मको अनुसन्धानमा त्यही घरमा हत्या भएको र पालुङ लगेर शव जलाएको खुलेको छ,' अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसरका प्रमुख राजेन्द्र श्रेष्ठले भने, 'हत्या कसरी भयो खुलेको छैन।'
रञ्जनले शनिबार काठमाडौं बाहिर जान प्रयोग गरेको गाडी उनको आफन्तको थियो। बयान क्रममा उनले गीताको शव फाल्न सशस्त्रले दिएको सुविधाको गाडी प्रयोग गरेको बताए। उनकै बयानका आधारमा प्रहरीले हलचोकमा रहेको सशस्त्र प्रहरी मुख्यालयबाट बा१झ ६२१३ नम्बरको सरकारी गाडी सोमबार नियन्त्रणमा लिएर हनुमानढोका ल्याएको छ। गाडीको अवलोकन गर्दा रञ्जनको बयानसँग मेल खाएको श्रेष्ठले बताए।
प्रहरी अधिकारीका अनुसार उनले गीताको हत्यापछि शवलाई ब्लाङ्केटले बेरेर लगेको बताएका थिए। 'गाडीको पछाडिको सिटमा ब्लाङ्केटको धुलो टाँसिएको फेला पर्‍यो,' एसपी श्रेष्ठले भने, 'गाडीमा पेट्रोलको ह्वास्स गन्ध आएकाले शव फाल्न त्यही गाडी प्रयोग भएको देखियो।'
घरझगडाका कारण हत्या भएको देखिए पनि आकस्मिक नभई योजनाबद्ध रूपमै घटना भएको स्रोत बताउँछ। बिहानै आएर छोरालाई बाहिर लैजानु, त्यसपछि आफू एक्लै फर्किएर हत्या गर्नु, गाडीमा फुल ट्यांकी तेल हालेर शव उपत्यकाबाहिर (मकवानपुरको पालुङ) जलाउन लग्नुले हत्या योजनाबद्ध देखिएको अनुसन्धान स्रोतको तर्क छ। कोठामा सबै प्रमाण नष्ट गरेको र शव पनि जलाएकाले घटना 'योजनाबद्ध' भएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बतायो।
रञ्जनको बयानअनुसार उनी पुस २७ गते बिहान करिब १० बजे कान्छो छोरालाई घुमाउन बुढानिलकन्ठ घर गएका थिए। एक वर्षदेखि जेठो छोरा उनीसँगै बस्दै आएका थिए। उनले त्यो दिन सशस्त्रको गाडी प्रयोग गरेका थिए। रञ्जनको बयानअनुसार उनले छोराहरूलाई कमलपोखरीको सिटी सेन्टर घुमाए। त्यहाँबाट भाटभटेनी लगे।
'भाटभटेनी पुगेपछि गीताले फोन गरेर घर बोलाइन्,' रञ्जनको बयानमा छ, 'बच्चाहरूबारे कुरा गर्नुछ भनेकाले म एक्लै ट्याक्सीमा गएँ। घर पुग्दा गीता बेडरुममा थिइन्। कुराकानी गर्दागर्दै हात हालाहाल भयो।' त्यही क्रममा गीता भुइँमा बजारिएर अचेत भएको उनले बताएका छन्। पटकपटक उठाउन खोज्दा पनि होस नआएपछि र सास पनि नचलेपछि गाडीमा राखेर फाल्न लगेको उनको बयान छ।
अनुसन्धान स्रोतका अनुसार सशस्त्रका हवल्दार उनका चालक थिए। उनले चालकलाई महाराजगन्जसम्म गाडी ल्याउन निर्देशन दिए र आफैं गाडी लिन पुगे। बेलुकी करिब ८ बजे घरपछाडि बारीको बाटो हुँदै भान्छा कोठानजिक गाडी पुर्‍याए। त्यसैमा शव बोकेर महाराजगन्ज ल्याए। त्यहाँबाट सशस्त्रका चालकले खानीखोलासम्म गाडी चलाए। रञ्जनले उनलाई 'यतै बसेर खाना खानू' भन्दै आफैं गाडी लिएर हिँडे। उनी पालुङ पुगेर रातको २ बजे खानीखोला फर्के। त्यहाँबाट फेरि उही चालकलाई गाडी काठमाडौंसम्म ल्याए।
'घटनाको दिन उनी काठमाडौंबाट बाहिरिएको समय खुलेको छैन, तर ३ बजेतिर काठमाडौं भित्रिएको रेकर्ड फेला परेको छ,' अपराध महाशाखाका एसपी शाहले भने, 'उनले प्रयोग गरेको मोबाइलको लोकेसनका आधारमा समेत उनी त्यस दिन कमलपोखरी, महाराजगन्ज हुँदै उपत्यकाबाट बाहिर गएको देखिन्छ।'
रञ्जन किन गए पालुङ ?
अपराधमा संलग्न व्यक्ति आफू फस्ने प्रमाण छुटेको छ/छैन निश्चित गर्न फेरि एकपटक घटनास्थल फर्कने गर्छ भन्ने मान्यता छ। रञ्जन आफैं 'क्रिमिनोलोजी साइकोलोजी'का स्नातक हुन्। उनले पढेको त्यही कुरा व्यवहारमा उतार्दै पालुङमा आफूविरुद्ध प्रमाण छुटेको छ कि भनी निश्चित गर्न शनिबार त्यहाँ फर्किएको अनुसन्धान स्रोतले बतायो। 'प्रहरीको अपराध अनुसन्धानमा अभियुक्त खोज्न यो सूत्र पढाउने गरिन्छ,' एक प्रहरी अधिकारीले भने।
एक्लै हैनन् रञ्जन
रञ्जनले हत्यामा आफू एक्लै संलग्न रहेको दाबी गरे पनि अनुसन्धान अधिकारी विश्वस्त हुन सकेका छैनन्। पुस २७ गते दिउँसो उनी एक्लैले हत्या गरे पनि शव व्यवस्थापनमा अर्का सहयोगीसमेत रहेको प्रहरी अधिकारीको शंका छ। तर, ती सहयोगी खुल्न सकेको छैन। एसपी श्रेष्ठले अहिलेसम्मको अनुसन्धानमा रञ्जनसँग कोही सहयोगी हुनसक्ने देखिए पनि यकिन नभएको बताए। 'अनुसन्धान जारी रहेकाले अहिल्यै हत्यामा को-को संलग्न छन् यकिन छैन,' उनले भने, 'सहयोगी पनि हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।'
प्रहरीले हत्यामा सहयोग गरेको आशंकामा केही व्यक्तिसँग सोधपुछ गरेको छ। रञ्जनका चालक सशस्त्र प्रहरीका हवल्दारको संलग्नताबारे अनुसन्धान गर्न प्रहरीले सोमबार उनीसित सोधपुछ गरेको थियो। उनले हत्याको दिन आफू रञ्जनको घर नगएको र खानीखोलामै ओर्लिएको बयान दिएका छन्। उनलाई 'बोलाएको समयमा आउने' सर्तमा प्रहरीले छाडेको छ।
स्रोतअनुसार रञ्जनसँग नाम जोडिएका एक महिलाको खोजी भइरहे पनि उनी सम्पर्कविहीन छिन्। प्रहरीले घटनाबारे जानकारी लिन रेग्मी थरकी ती महिलाको खोजी गरेको थियो।
मकवानपुरमा सम्पर्क नगर्नु गल्ती
पुस २७ गते काठमाडौंबाट बेपत्ता भएकी गीताको शव भोलिपल्टै जलेको अवस्थामा पालुङमा फेला परे पनि काठमाडौं प्रहरीले रञ्जन पालुङ पुगेर फर्किएपछि त्यसको सूचना पाएको थियो।
प्रहरी अधिकारी गीता हराएको जानकारी आएकै दिनदेखि रञ्जनको गतिविधि निगरानीमा राखेको दाबी गर्छन्। 'उनी कहाँ-कहाँ गए भन्ने सबै अनुगमन गरिरहेका थियौं,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'उनी पालुङ गएको पनि खुलेको थियो, तर तत्काल मकवानपुर प्रहरीसँग समन्वय नगर्दा घटना खुलाउन ढिला भयो।'
रञ्जन र गीताको घरझगडाबारे पटकपकट प्रहरीकहाँ गुनासो आउने गरेको र पछि आफैं मिल्ने गरेकाले समेत घटनालाई हल्का रूपमा हेर्ने गल्ती भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले स्विकार गरे।
'प्रायः घरझगडाका कुरा आइरहन्थे, यसपालि पनि त्यस्तै होला भन्ने सोचियो,' ती अधिकारीले भने, 'यसपालि उसको योजना अर्कै रहेछ।'
स्रोत: नागरिक

Find Us On

index.jpg

Top Producer

ktimnew.gif




Kathmandu Restaurant, Toronto

krcard.gif

Advertisement

प्रचार  प्रसारको   लागी हामीलाई सम्पर्क गर्नु होस 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.


abhjt.jpg


aviva1.jpg


everest-advertisement1.jpg


hb_%20acco1.jpg


skmpaji1.jpg


shangrila20restaurant.jpg


Banner Exchange

You are visitor No.
001244956

We have 4 guests and no members online